मिति २०८१ साल चैत्र १ र २ गते रूपा गाउँपालिकाको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी कास्की जिल्लाको आयोजना र नरेसो रूपा-६ रूपाकोट उपशाखाको व्यवस्थापनमा पालिका स्तरीय विपद् व्यवस्थापन तालिम चन्द्रप्रभा मावि रूपाकोट-६ को सभा हलमा सम्पन्न भएको छ।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी रूपा-६ उपशाखाका सभापति हर्क बहादुर केसीको अध्यक्षता तथा रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाको प्रमुख आतिथ्यतामा ब्यानरमा हस्ताक्षर गरी उद्घाटन गरिएको थियो। कार्यक्रममा पूर्व सभापति रामचन्द्र सापकोटाले प्रमुख अतिथि लगायत सहभागीहरूलाई स्वागत गर्नुभएको थियो।
रेडक्रसका सात सिद्धान्तबारे युवा रेडक्रस सर्कल चन्द्रप्रभा मावि अध्यक्ष साबिया मियाले प्रकाश पार्नुभएको थियो। प्रमुख अतिथि ओझाले रेडक्रस अभियानमार्फत रूपा गाउँपालिकामा मानवताका लागि सञ्चालन गरिएका गतिविधिहरूमा हातेमालो गर्न पाउँदा खुसी लागेको बताउनुभयो। साथै, विपद् व्यवस्थापनमा रेडक्रसले निभाउँदै आएको अग्रणी भूमिकाको उच्च मूल्यांकन गर्दै, गाउँपालिकालाई निरन्तर सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो।
तालिममा रूपा गाउँपालिका उपाध्यक्ष, वडा नं. ६ का वडा अध्यक्ष तथा वडा सदस्यहरू, विभिन्न वडाका जनप्रतिनिधि, रेडक्रस उपशाखाका पदाधिकारी तथा सदस्यहरू, युवा रेडक्रस सर्कलका विद्यार्थीहरू गरी ४५ जनाको सहभागिता रहेको थियो। तालिमका प्रशिक्षकहरू नवराज भण्डारी र सुनिता पौडेलले सहजिकरण गर्नुभएको थियो।
तालिमको समापन कास्की रेडक्रस उपसभापति उर्मिला खड्का भण्डारीको प्रमुख आतिथ्यतामा, उपशाखा सभापतिको सभापतित्वमा सम्पन्न भएको थियो। समापन कार्यक्रममा कास्की सदस्य रमेश राज भण्डारी, खगेन्द्रराज पराजुली, कमल पौडेल लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूलाई सहभागिता प्रमाणपत्र प्रदान गर्दै तालिम सम्पन्न गरिएको थियो। कार्यक्रमको सञ्चालन उपशाखा सचिवले गर्नुभएको थियो।
रूपा गाउँपालिकामा पालिका स्तरीय विपद् व्यवस्थापन तालिम सम्पन्न
Download